ह्रथुम — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुमले यस वर्षदेखि प्रदान गर्न सुरु गर्ने ‘तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार मनु याक्थुङबालाई प्रदान गर्ने निर्णय गरेको छ।

शनिबार बसेको फोनिज तेह्रथुमको कार्यसमिति बैठकले संस्थापक अध्यक्ष समेत रहेका याक्थुङबालाई पुरस्कार दिने निर्णय गरेको हो। यस पुरस्कारमा सम्मान–पत्रसहित नगद रु. १०,००० रहनेछ।

वि.सं. २०६४ देखि तेह्रथुम जिल्लाकै पहिलो सामुदायिक रेडियो रेडियो मेन्छ्यायेम मा कार्यरत याक्थुङबा म्याङलुङ नगरपालिका–२ निवासी हुन्। उनले विगत १८ वर्षदेखि आदिवासी जनजातिको हक–अधिकार, कला, संस्कृति र पहिचानका विषयमा रेडियो तरङ्ग र कलमको माध्यमबाट निरन्तर बहस र पैरवी गर्दै आएका छन्।

फोनिज तेह्रथुमकी अध्यक्ष बविता राईका अनुसार याक्थुङबाको यही योगदानको कदर गर्दै पुरस्कारको पहिलो संस्करणबाट सम्मानित गर्ने निर्णय गरिएको हो। उक्त पुरस्कार आगामी साउन २८ गते २६औं फोनिज डे को अवसरमा म्याङलुङमा आयोजित समारोहका बीच प्रदान गरिनेछ।

यो पुरस्कारका लागि तेह्रथुमको आठराई गाउँपालिका–७ थोक्लुङ निवासी तथा हाल बेलायतमा बसोबासरत सामाजिक तथा बौद्धिक व्यक्तित्व तारा बहादुर कन्दङवाले रु. २ लाखको कोष स्थापना गरेका हुन्। फोनिजको संस्थागत विकास र जिल्लाका फोनिजकर्मीको योगदानको सम्मानस्वरूप आफूले पुरस्कार कोष स्थापना गरेको कन्दङवाले बताए।

फोनिज तेह्रथुमका अनुसार, कोषको ब्याजबाट हरेक वर्ष फोनिज डे को अवसरमा आदिवासी जनजातिको हक–अधिकार स्थापना, कला–संस्कृति संरक्षण र पहिचानको उजागरमा महत्वपूर्ण योगदान पुर्याउने एक जना फोनिजकर्मीलाई सो पुरस्कार प्रदान गरिनेछ।

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!